काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा गठबन्धन असफल भएको दाबी गरेका छन् । १६५ सिटमा गठबन्धन गर्दा पनि सत्तारुढ दलको बहुमत नआएकाले उनीहरु पराजित भएको स्पष्ट पारेका हुन् । एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै ओलीले भने,‘उहाँहरु चरम असफलतातिर जानुभएको छ । निर्वाचनको परिणामले देश अस्थिरतातर्फ जाने देखिएको छ।’
पूर्वप्रधानमन्त्री ओलीले अहिले एमालेको ध्यान सरकारमा केन्द्रितभन्दा पनि समस्याप्रति चिन्तित र सचेत रहेको उल्लेख गरे । उनले एमाले सरकारमा जान नहतारिएको दाबी गरे । उनले भने,‘मेरो पार्टीले सरकारको नेतृत्वको पुगिहालौं वा गठबन्धन बन्न नदिन लागि हालौं भन्नेतिर छैन।’
पूर्वप्रधानमन्त्री ओलीले अहिलेको गठबन्धनले अर्थतन्त्र उकास्न नसक्ने टिप्पणी गरे । ओलीले राजनीतिक, सामाजिक र आर्थिक तीन वटा गम्भीर समस्या पैदा भएर देश गम्भीरतर्फ गएकाले सरकारको नेतृत्व गर्नेले त्यसलाई ध्यान दिनुपर्ने धारणा राखे।
ओलीले अन्य पार्टीसँग एमालेले राखेका सर्त लागू भए मात्र सहकार्य गर्ने सक्ने स्पष्ट पारे । उनले भने,‘वैचारिक र कार्यक्षमताका हिसाबले हाम्रो पार्टी शासन चलाउन योग्य हो तर अंक गणितमा पुगेन। तर एमाले पदको बार्गेनिङमा लागेको छैन । कसैसँग मिल्दा पद दिन्छ दिन्न भन्ने होइन। हामी देशप्रतिको जवाफदेहिता, परिस्थितिसँगको गम्भीरता बुझिरहेका छौं, सामना कसरी गर्ने भन्ने कमिटमेन्ट चाहन्छौं ।’