डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा टेवा पुग्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलंगामा शुक्रबार आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरुवात गरिएको जानकारी दिए । ‘क्युआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नको निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ,’ उनले भने ।

डिजिटल कारोबारलाई ‘पारदर्शिताको मेरुदण्ड’को संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा व्यक्त गरे । नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए । डिजिटल कारोबारमा आउन सक्ने जोखिमप्रति सचेत रहनसमेत उनले सबैलाई अनुरोध गरे ।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारेका छन् । साथै, नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकका बारेमा समेत उनले जानकारी दिए । गभर्नरको कार्यालयका निर्देशक अजित रेग्मीले एक कार्यपत्र प्रस्तुत गर्दै डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानीलगायतका विविध पक्षबारे जानकारी दिए ।

वाणिज्य बैंकका सुदूरपश्चिम क्षेत्रका प्रदेश प्रमुख, दार्चुलास्थित बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र, स्थानीय सहकारी संस्थाका प्रतिनिधि र विद्यार्थीसहित सयभन्दा बढीको सहभागिता थियो ।


Published :८ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media