रामचन्द्र पौडेल र माधव नेपालसँग प्रचण्डको भेटवार्ता, प्रधानमन्त्री पद नछाड्ने प्रचण्डको अडान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक भेटघाट तीव्र बनेको छ। आफैँ प्रधानमन्त्री बन्ने लाइनमा रहेका प्रचण्डले सत्ता गठबन्धनका नेता तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाल निवास कोटेश्वर पुगेर भेटेका छन् ।

भेटमा प्रचण्डले अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले नै गर्न पाउनुपर्ने अडान राखेका छन् । प्रचण्डले नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री लिने र बाँकी पदको आपसी समझदारीमा प्याकेजमै सहमति गर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ । नेता नेपालले सत्ता गठबन्धनमा वृहत छलफल गरी निर्णय लिनुपर्ने जवाफ दिएका थिए।

त्यस्तै प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल प्रचण्ड निवास खुमलटार पुगेका छन् । भेटमा पौडेलले वर्तमान सत्ता समीकरणलाई जोगाएर आगामी सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताएका थिए । उनी कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर प्रचण्डलाई भेट्न खुमलटार पुगेको स्रोतले जनाएको छ । पौडेलले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक गृहकार्य गरिरहेको कुरा प्रचण्डलाई सुनाएका थिए ।

प्रचण्डले भने आफूहरू प्रधानमन्त्रीबाट पछि नहट्ने संकेत गरेका छन् । उनले प्रधानमन्त्री बाहेकका जुनसुकै पदमा प्याकेजमा सहमति गर्ने गरी निर्णयमा पुग्नुपर्ने पौडेललाई बताएका थिए ।

नेपाली कांग्रेसले आजै पार्टीको संसदीय दलको बैठक बोलाएको छ। बैठकअघि बरिष्ठ नेता पौडेल र सत्ता साझेदार दलका अर्का शीर्ष नेता प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रधानमन्त्री पदको विषयलाई लिएर सत्ता समीकरण बनाउन दलका नेताबीच तीव्र गृहकार्य भइरहेको छ । सत्ता समीकरणकै लागि शीर्ष नेताको भेटघाट बाक्लिएको छ भने अब को प्रधानमन्त्री को भन्ने विषय थप पेचिलो बन्दै गएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयन गर्न दलहरूलाई दिएको समयसीमा भोलि (आइतबार) साँझ सकिँदैछ। यो समयसीमा सकिनुअघि नै अबको प्रधानमन्त्री टुंग्याउन वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताको गृहकार्य जारी छ ।


Published :९ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media