गठबन्धन तोड्ने माओवादी घुर्कीपछि कांग्रेसले थाल्यो एमालेसँग संवाद

काठमाडौं । माओवादी केन्द्रले गठबन्धन छोड्ने घुर्की दिएपछि नेपाली कांग्रेसले नेकपा एमालेसँग संवाद थालेको छ । गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पठाएका छन् ।

बालकोटमा निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री बन्ने विषयलाई लिएर गठबन्धनभित्र भइरहेको खिचातानीका विषयमा निधिले अध्यक्ष ओलीसँग ब्रिफिङ गरेको बताइएको छ ।

निधिले सम्भावित नयाँ समीकरणका लागि एमालेसँग छलफल गर्न कांग्रेस तयार रहेको प्रधानमन्त्रीको सन्देशसमेत ओलीलाई सुनाएका थिए । उनीहरूबीच एमाले र कांग्रेसको सम्भावित सत्ता समीकरणबारे छलफल भएको कांग्रेसको उच्च स्रोतको बताएको छ ।

शनिबार अपरान्ह बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री बन्ने विषयमा छलफल गरेको थियो ।

गठबन्धन बैठकअगाडि माओवादी अध्यक्ष प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई प्रधानमन्त्री देउवालाई भेट्न पठाएका थिए । पुनले प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन तोड्ने चेतावनी दिएका थिए ।

उता एमाले अध्यक्ष ओलीले पनि आज एक कार्यक्रममा प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने बताएका थिए ।


Published :९ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media