यस्तो छ प्रचण्डको ८ सदस्यीय मन्त्रिमण्डल

काठमाडौं । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ सदस्सीय मन्त्रीमण्डल गठन गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठजनालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । यो मन्त्रीमण्डलमा तीनजना उपप्रधानमन्त्री बनेका छन्।

माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उपप्रधानमन्त्रीमा रवि लामिछाने, जनमत पार्टीबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा अब्दुल खानले शपथ लिएका छन् ।

यस्तै, एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राइले पनि मन्त्रीका रूपमा शपथ लिएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल दोस्रोपटक अर्थमन्त्री बनेका छन् । उनको नेतृत्वमा एमाले यो सरकारमा गएको हो ।

यस्तै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका छन् । श्रेष्ठ एकता केन्द्र मसाल हुँदै माओवादीमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । चुनावको केही महिनाअघि पार्टी गठन गरेका लामिछानेको संसदमा दर्बिलो उपस्थिति भएको छ ।

जनमत पार्टीका अब्दुल खानले पनि शपथ लिएका छन् । पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिए पनि हालका लागि विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् ।  खान समानुपातिक सांसद हुन् । खान जनमतका बरिष्ठ उपाध्यक्ष हुन् ।

यस्तै, नेकपा एमालेबाट ज्वालाकुमारी शाह मन्त्री बनेकी छन् । माओवादीबाट नेकपाहुँदै एमाले आएकी शाह मन्त्री बनेकी हुन् । पार्टी अध्यक्ष ओली निकट मानिने शाह एमाले मधेश प्रदेशको अध्यक्षसमेत हुन् ।

एमालेका दामोदर भण्डारी पूर्वराज्यमन्त्री हुन् । भण्डारी बैतडीबाट निर्वाचित सांसद हुन् । भण्डारीले लगातार तेस्रोपटक जितेका हुन् ।

एमालेका राजेन्द्र राई धनकुटाबाट निर्वाचित सांसद हुन् । राईले कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गराएका थिए । राई ओली निकट मानिन्छन् ।


Published :११ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media