काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहिन ठानिनु गलत भएको बताएका छन् ।
नेता कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको बिर्सन नसक्ने बताए ।
उनले भनेका छन्, ‘विगत एक बर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो । यो निसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसबाट शिक्षा लिन सक्नुपर्छ ।’
पार्टीले सत्ता गुमाए पनि शक्ति नगुमाएको बताउँदै उनले गठबन्धन टुटेर केन्द्रदेखि प्रदेशसम्म सरकारबाट बाहिर बस्नुपर्ने परिस्थितिको उनले गम्भीर समिक्षा गर्ने बताए ।
उनले भनेका छन्, ‘संविधानसभाबाट जारी संविधानअन्तर्गत मुलुकमा दोश्रो आम निर्वाचनको माध्यमवाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल (प्रचण्ड) लाई पाएको छ । सर्वप्रथम संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाई नियुक्त हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु ।’
कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्ने बताउँदै कोइरालाले भनेका छन्, ‘कांग्रेस केन्द्र देखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँबाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनताबीच जानेछौँ । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुट्नुको हामीसँग अब विकल्प छैन ।’
सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको बताउँदै विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौँ ।’