केरुङ-काठमाडौं रेलको सम्भाव्यता अध्ययन गर्न चिनियाँ इन्जिनियर काठमाडौंमा

काठमाडौं । ‘रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप को-अपरेट लिमिटेड’ले केरुङ-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ।

चीनको सो कम्पनीले केरुङ-काठमाडौं रेलमार्गका लागि ६ जना इन्जिनियहरूलाई मंगलबार नेपाल पठाएको छ । सन् २०१८ मै केरुङ-काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्यययन सम्पन्न भएको थियो।

नेपालस्थित चिनियाँ दूतावासले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई सोमबार पत्र लेख्दै केरुङ-काठमाडौंको रेलमार्ग अध्ययनका लागि आएको चिनियाँ टोलीलाई सहयोग गर्न आग्रह गरेको छ ।

पत्रमा ‘रेलवे फर्स्ट सर्भे एन्ड डीजाइन इन्स्टिच्युट ग्रुप को-अपरेट लिमिटेड’ले रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । सो सम्भाव्यता अध्ययन चीन सरकारको अनुदानमा हुने मन्त्रालय स्रोतले बताएको छ।

गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा दुई देशका अधिकारीहरूबीच सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यसअघि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।


Published :१२ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media