उपत्यकामा चिसो बढ्दै, आजको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज मङ्गलवार बढी चिसो महसुस गरिएको छ। उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो ।

हिजाे साेमवार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । उनले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकतम तापक्रम पनि घट्ने क्रममा रहेको बताइन् ।

मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसाे भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्नसक्ने हुँदा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

महाशाखाले आज बिहान ९ बजे गरेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस छ दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।


Published :१२ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media