सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई समेत भित्र्याउन छलफल

काठमाडौं । एमाले नेतृत्वमा बनेको नयाँ सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादीलाई समेत भित्र्याउने तयारी थालिएको छ । बुधबार बिहान ललितपुरस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातेदारको निजी एक सिटी स्केप अपार्टमेन्टमा सत्ता गठबन्धनका शीर्ष नेताबीच यस विषयमा छलफल भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी छन् । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय उपप्रधान एवम् गृहमन्त्री रवी लामिछानेलगायतका नेताहरुबीच छलफल चलिरहेको समयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत पुगेका थिए ।

उक्त अपार्टमेन्टमा गृहमन्त्री लामिछाने बैठकबाट बाहिरिएपछि प्रचण्ड र नेपाल लगायतका नेताहरुबीच कुराकानी भएको छ । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मिल्न आग्रह गरिरहेका छन् । प्रचण्डले नै उनीहरुबीच भेट गर्न मध्यस्थता गर्न लागेका छन्।

पार्टी विभाजनपछि पहिलोपटक प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली-नेपालबीच संवाद भएको थियो । प्रधानमन्त्री  प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल एकै ठाउँमा बस्न पुगेका थिए ।

एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन मंगलबार राति एसका अध्यक्ष माधव नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले नेपाललाई सरकारमा जाने वातावरण बनाउन दबाब दिँदै आएका छन् ।


Published :१३ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media