खुमलटारमा प्रम प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता, सरकार विस्तारलगायत विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दाहालकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । नेकपाको विभाजनपछि एमाले अध्यक्ष ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन्  ।

भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए । उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहनेछ । निचोडमा पुगिएको छैन ।’

सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी भएको छ ।

उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको थियो । भोलि फेरि बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ ।


Published :१३ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media