काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
संसदीय दलको नेताको उम्मेदवारमा यादवको मात्र मनोनयन दर्ता भएपछि निर्वाचन समितिले यादव निर्विरोध घोषणा गरेको हो ।
यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए ।
अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएपछि एक समूहले संसदमा प्रतिनिधित्व गर्ने अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आएका थिए ।
राई निर्विरोध हुने अवस्था नआएपछि उनी चुनाव नलडेका हुन् । जसपामा मधेशी सांसदको वाहुल्यता भएको र दलको नेतामा मधेशी नै हुनुपर्ने बलियो दावी प्रस्तुत भएपछि राईले उम्मेदवारी दिएनन् । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।