काठमाडौँ । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नव निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ ।
भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ ।
उक्त विमानस्थलमा आइएफआर प्रविधि पनि जडान गरिएकाले अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिने छ । यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्याउन र्याम्प बस राखेको छ। यात्रु जहाज र टर्मिनल भवन आउजाउ गर्न र्याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुध्द एयरका लागि जाँच काउण्टर नं ३, ४ र ५ तोकिएको छ । सामानको तौल तथा सुरक्षा जाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई प्रवेश गर्न बुद्ध एयरले अनुरोध गरेको छ ।