काठमाडौं । नेकपा (एकीकृत समावादी) पार्टीको प्रवक्तासमेत रहेका नेता जगन्नाथ खतिवडाले पार्टी एकताका विषयमा भइरहेको समाचार बजार हल्ला मात्र भएको बताएका छन् ।
केही दिन यता सरकारमा सामेल रहेको दल नेकपा एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता हुने चर्चा चलिरहेका बेला एकीकृत समावादीका प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रायोजित प्रचारको भ्रममा परेर धारणा नबनाउन अनुरोध गरेका छन् ।
उनले भनेका छन्– ‘बजार हल्लाको भ्रममा नपरौँ। हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि बढेको छैन ।’
पार्टी सुदृढीकरणको योजना बनाउँदै गरेको जानकारी दिँदै उनले भनेका छन्– ‘पार्टी बिस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर बिचार बिमर्शमा छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटिका बैठकहरु आयोजना गर्ने तयारी गर्दैछ।’
साथै उनले प्रचण्ड नेतृत्वको सरकारमा जाने विषयमा पनि छलफल चल्दै गरेको तर कुनै निर्णय भइनसकेको बताउँदै भनेका छन्– ‘प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरिसकेको छैन, छलफल चल्दैछ । तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन ।’