काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवाबढुवाका लागि नेताहरुका घर-घर नचाहर्न प्रहरीलाई निर्देशन दिएका छन् । उनले घर-घर जाने प्रहरीलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि गएका गृहमन्त्री लामिछानेले सरुवाबढुवाका लागि नेताहरुको घर-घर नचाहर्न निर्देशन दिएका हुन् । उनले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचरण देखाउन निर्देशन दिए । ‘उपप्रधान तथा गृहमन्त्रीज्यू आज प्रहरी प्रधान कार्यालयमा निरीक्षणका लागि आउनुभएको थियो,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने, ‘प्रहरीको सरुवाबढुवा कानुन र विधिसम्मत् हुने गृहमन्त्रीज्यूले बताउनुभयो ।’
कानुन र विधिसम्मत् प्रहरीले गर्ने कार्यमा मन्त्रालयको सहयोग रहने र कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री लामिछानेले बताएको प्रवक्ता राईले जानकारी दिए ।
कामको शिलशिलाबाहेक राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका अधिकारीसँग विभागीय अनुमतिबिना नभेट्न प्रहरीलाई निर्देशन दिएको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका हुन् ।