सरकारलाई समर्थन गर्नुअघिको वाचा पूरा गर्न नागरिक उन्मुक्तिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रेशम चौधरीको रिहाइ माग गर्दै स्मरण पत्र बुझाइएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितलगायत नेताहरूले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई स्मरणपत्रसहितको ज्ञापन बुझाएका हुन् ।

सरकारलाई समर्थन गर्नुअघि गरेको वाचा पूरा गर्न भन्दै नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । आफ्ना मागहरू पूरा नभएसम्म प्रदेश सरकारमा निर्माणमा कसैलाई समर्थन नगर्ने ज्ञापनमा उल्लेख छ ।

‘नागरिक उन्मुक्ति पार्टीले वर्तमान गठबन्धन सरकारलाई सहयोग र समर्थन गरेकव विषय जगजाहेर छ। तर प्रदेशको सरकार गठनको सम्बन्धमा हाम्रो पार्टीको धारणा पृथक छ । हाम्रा माग पूरा नभएसम्म प्रदेश सरकारमा सहभागी पनि नहुने र कुनै गठबन्धनलाई सहयोग र समर्थन पनि नगर्ने स्मरण गराउन चाहन्छौं,’ प्रवक्ता पण्डितद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ज्ञापनपत्रमा प्रचण्डले यसअघि गरेका वाचाहरू पनि स्मरण गराइएको छ।

दोस्रोपटक प्रधानमन्त्री हुँदा दिल्लीमा रेशम चौधरीलाई गरेको वाचा र गत स्थानीय तह निर्वाचनमा कैलालीको मसुरियामा प्रचण्डले दिएको अभिव्यक्त स्मरण गराइएको छ । मसुरियामा आयोजित कार्यक्रममा प्रचण्डले रेशम चौधरी निर्दोष भएको बताएका थिए ।

नागरिक उन्मुक्तिले पाँचबुँदे माग अघि सारेको छ । जसमा रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीको रिहाइ, टीकापुर घटनामा ५८ जनाविरुद्ध लगाइएको मुद्दा खारेजी, लाल आयोग र देवी शर्मा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, थारू आरक्षणसम्बन्धी व्यवस्था र सरकारले हालै जारी गरेको फौजदारी कानुनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि प्रधानमन्त्रीसमक्ष स्मरण गराइएको छ ।


Published :१५ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media