माओवादीमा पार्टी नेतृत्व तल्लो तहका नेतालाई दिनुपर्ने माग

काठमाडौं । माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा गएपछि पार्टी सञ्चालनका लागि कार्यकारी नेतृत्व तोक्नुपर्ने माग उठेको छ ।

अध्यक्ष प्रचण्डले दुईपटक सरकार र पार्टी आफैँले नेतृत्व गरेको पार्टी सचिव गणेश साहले बताए ।
‘पार्टीको नेतृत्व अहिलेसम्म अध्यक्षले हेरिराख्नुभएको थियो। तर उहाँ सरकारको नेतृत्वमा जानुभयो । अहिले पार्टी महासचिव देव गुरुङले दैनिक कामकाज हेर्न सुरु गर्नुभएको छ,’ उनले भने, ‘अहिलेसम्म प्रचण्डजी सरकारको नेतृत्वमा हुँदा पार्टीको नेतृत्व अरुलाई दिनुभएको छैन। अहिले के सोच्दै हुनुहुन्छ, थाहा छैन ।’

पार्टीको नेतृत्व तल्लो तहका नेताहरूलाई दिनुपर्ने छलफल सुरु भएको छ । पोलिष्टव्युरो सदस्य डोरप्रसाद उपाध्यायले  पार्टीलाई व्यवस्थित बनाउन महासचिव गुरुङलाई नेतृत्व दिनुपर्ने बताए ।

‘सरकारमा पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्ष गएकाले उहाँहरू पार्टीको गतिविधिमा धेरै समय दिन सक्नुहुन्न,’ उनले भने, ‘उहाँहरूले तल्लो तहको नेताहरूलाई काम गर्ने जिम्मेवारी दिनुभयो भने सांगठनिक पोर्टफोलियो पनि निर्माण हुन्छ।’ पार्टीभित्र नयाँ ढंगले कार्यविभाजन हुनुपर्ने उनको भनाइ छ ।

माओवादीले संगठन विभागको बैठक पुस १७ गते डाकेको छ। बैठकमा यस सम्बन्धमा छलफल हुने साहले बताए। पार्टीको विधानसम्मत रूपमा विभागको जिम्मेवारीहरू बाँडफाट नभएको सचिव साहले बताए । उनले अध्यक्ष प्रचण्डले अन्य नेताहरूलाई पनि जिम्मेवारी दिनुपर्ने बताए ।

उनले पार्टीमा शक्ति विकेन्द्रीकरण गर्नुपर्ने माग गरे । ‘समान्यतः पहिलो व्यक्ति सरकारमा गयो भने दोस्रो व्यक्तिलाई जिम्मेवारी दिए हुनथ्यो,’ उनले भने, ‘अब पार्टीको पावर विकेन्द्रीकृत गर्नुपर्छ। प्रदेशस्तरबाटै प्रदेश तहमा पार्टी सञ्चालन हुनुपर्छ।’


Published :१६ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media