देशभर चिसो ह्वात्तै बढ्यो, विपन्न वर्ग मारमा

काठमाडौँ । केही दिनदेखि नेपालमा चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकासँगै देशभर तापक्रम घटेसँगै चिसो बढेको हो । चिसो बढेसँगै देशभरको जनजीवनसमेत प्रभावित हुन थालेको छ ।

तराईं र पहाडका केही ठाउँमा हुस्सु र हिमालमा हिमपात हुन थालेपछि जनजीवन प्रभावित भएको हो । तराईंमा बिहानै हुस्सु लाग्ने र दिउँसोसमेत बाँक्लो कुहिरो लाग्न थालेको छ । हुस्सु र कुहिरोले घाम देखिन छोडेपछि चिसो थप बढेको हो ।

हुस्सु र कुहिरोसँगै चल्ने चिसो हावाले तराईंमा घरबाहिर निस्किनसमेत समस्या हुन थालेको छ । चिसो बढेसँगै मानिसहरूको चहलपहलसमेत घट्न थालेको छ । चिसोले देशभर वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढ्न थालेका छन् । अझै विपन्न समुदाय चिसोबाट बढी प्रभावित भएका छन् ।

दैनिक ज्यालादारी र मजदुरी गरेर जीवन धान्नेहरू बढी मारमा परेका छन् । रिक्सा, ठेला चलाउनेलगायत बाहिर काम गर्ने मजदुरहरू चिसोले बढी प्रभावित भएका हुन् । मिहिनेत मजदुरी गरेर दुई छाक टार्ने समुदायका मानिसहरू काममा जान पाएका छैनन् ।

आगामी तीन दिनसम्म अझै चिसो बढ्ने भएको छ । पश्चिमी वायुको प्रभावका कारण अझै तीन दिनसम्म चिसो अझै बढ्ने मौसमविद्हरूले बताएका छन् । पश्चिमी वायुका कारण चिसो बढिरहेको जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताए । उनका अनुसार आगामी तीन दिनसम्म देशका अधिकांश भागमा शीतलहरको सम्भावना रहेको छ ।


Published :१८ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media