काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न बुधबार बिहान महाराजगन्जस्थित शीतल निवास गएका थिए । सो भेटमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको थियो ।
एमाले अध्यक्ष ओलीले करिब दुई घन्टा राष्ट्रपति भण्डारीसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको स्रोतले बताएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको छ । राष्ट्रपतिको निर्वाचनको तयारी भइरहेका बेला सत्तारुढ दल एमालेका अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अध्यक्ष ओलीले मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवाचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै छलफल गरेका थिए । मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका ओली फर्किएपछि बालकोटामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।
मंगलबार नै ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेको स्रोतले बतायो ।