काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम आज (शनिबार) सत्ता गठबन्धनका शीर्ष नेताहरूसमक्ष पेस गरिने भएको छ ।
साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले तयार पारेको कार्यक्रम आज शीर्ष नेतासमक्ष पेस गर्न लागिएको हो । मस्यौदा कार्यदलले साझा कार्यक्रमलाई शुक्रबार अन्तिम रूप दिएको थियो । कार्यदलले तयार पारेको मस्यौदा प्रतिवेदन शनिबार शीर्ष नेताहरूलाई बुझाउने कार्यदल सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उनका अनुसार शीर्ष तहबाट पारित भएपछि उक्त कार्यक्रम सार्वजनिक गरिनेछ । पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमलेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा र जतता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ रहेका छन् ।