माओवादी र नेपाल समाजवादीबीच पार्टी एकताको तयारी

काठमाडौ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ।

शनिबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भेटमा दुई पार्टीबीचको एकता प्रक्रियाका विषयमा छलफल भएको छ ।

दुई शीर्ष नेताको भेटमा सहभागी नेपाल समाजवादीका नेता विश्वदीप पाण्डेले समसामयिक राजनीतिलगायत विविध विषयमा अन्तरङ्ग छलफल भएको बताए ।

बालुवाटारमा भएको भेटमा पार्टी एकताको मोडेल, विश्वासको मतका लागि राम्रो वातावरण बनाउने लगायतका विषयमा छलफल भएको थियो । पार्टी एकतालाई मूर्त रुप दिन नेकपा माओवादी केन्द्रले आफ्नो पदाधिकारी बैठकबाट औपचारिक रुपमा अघि बढाउने भएको छ ।

पार्टी एकताको विषय अघि बढेको र कार्यगत एकताका विषयमा कुराकानी भइरहेको र पार्टीको नामका विषयमा पनि दुई दलबीच परामर्श भइरहेको नेताहरूले बताएका छन् ।

२०७२ सालमा नेकपा माओवादी त्यागेर डा भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए । उनले ०७६ साल वैशाख २१ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेका थिए । एकतापछि समाजवादी पार्टी नेपाल बनेको थियो । २०७९ असारमा भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरे ।

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो । त्यसयता बाबुराम प्रचण्डसँगै थिए । यद्यपि पटकपटक अन्तरसंघर्ष हुँदै आएको थियो ।


Published :२३ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media