सरकारको साझा नीति तथा कार्यक्रम हेरेर मात्र विश्वासको मतबारे  निर्णय हुन्छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस दोषी  रहेको बताएका छन् ।

पार्टी निकट नेवा राष्ट्रिय सङ्घको शनिबार राजधानीमा आयोजित अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेस विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए ।

संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गरेको र केही नेताको अहङ्कारले नयाँ ध्रुवीकरण भएको बताए ।

नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।

‘सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ”, अध्यक्ष नेपालले भने ।

पार्टीका जनवर्गीय सङ्गठन, स्थायी कमिटी र पोलिटब्यूरो बैठकबाट अहिले सरकारमा नजान र सङ्गठन निर्माणमा केन्द्रित हुन सुझाव आएको उनको भनाइ थियो । उनले छरिएर रहेका वाम शक्तिलाई एकताबद्ध गरी बलियो कम्युनिष्ट शक्तिको खाँचो रहेकाले त्यसको निर्माणका लागि केही दलसँग छलफल भइरहेको बताए ।


Published :२३ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media