आजको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो जारी 

काठमाडौं । आज पनि मौसममा आंशिक बदली भएको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।

जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै गए पनि मध्य तराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुन सक्ने ठानिएको छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


Published :२४ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media