एमालेका हिक्मत कार्की बने प्रदेश १ को मुख्यमन्त्री

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।

नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दाबी पेश गरेका थिए ।

बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाका ६ र जसपाका १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री कार्कीको सपथ ग्रहण सोमबार हुनेछ । मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

 


Published :२४ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media