सत्ता गठबन्धनले संसदका सबै दलसँग विश्वासको मत माग्ने

काठमाडौं । सत्ता गठबन्धनका दलको बैठकले संसदका सबै दलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत माग्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटाको बैठकले संसदका सबै दलसँग विश्वासको मत माग्ने निर्णय गरेको हो । त्यस्तै सरकार सञ्चालनका लागि साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय भएको छ । न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ।

बैठकमा सत्ता साझेदार दलबीच संघीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा समेत छलफल भएको छ। सत्ता साझेदारीका बारेमा मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिटै सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए ।


Published :२४ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media