काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग धेरै चुनौती रहेको स्वीकार गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री (पुष्पकमल दाहाल) लाई विश्वासको मतको समस्या नभएपनि सरकारसंग भने धेरै चुनौति रहेको बताएका हुन । उनले अर्थतन्त्रलाई मजबुद बनाउने, राष्ट्रियतालाई बलियो बनाउनेदेखि सुशासन कायम गर्ने, भ्रष्टाचार रोक्ने लगाएतका चुनौति सरकार सामू रहेको बताएका छन् ।
उनले अव सबैले आफ्नो कार्यभार देश र जनताकै लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । ओलीले अव पनि सरकार ढलाउने बनाउने खेलमा लागे समयको बर्वादी हुने र देशका लागि काम गर्न नसकिने धारणा पनि राखेका छन् ।
उनले व्यक्तिको मान सम्मानका लागि नभई देशमा उन्नति गर्नका लागि सरकार बनाउनुपर्ने पनि बताएका छन् । संसद्मा नयाँ दल र नयाँ सांसदहरूको उपस्थिति नै जनताको परिवर्तनको आकांक्षा भएको उनको भनाइ छ ।
ओलीले नयाँ जनादेश माग्न जानु प्रतिगमन नभएको र अन्यत्रबाट सरकार ढाल्न खोज्नु प्रतिगमन भएको तर्क गरेका छन् । त्यस्तै ओलीले यसपटक सफल सांसद भएर देखाउनुपर्ने बताएका छन् ।