प्रधानमन्त्रीले आज दिउँसो १ बजे संसदबाट विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा विश्वासको मत लिने भएका छन् ।

पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार प्रधानमन्त्री प्रचण्डले संसद्मा पत्र पठाएर आज विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राखिएको छ ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । यसरी प्रधानमन्त्री बनेको व्यक्तिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नयाँ प्रतिनिधिसभाको पहिलो बैठक हिजो पुस २५ बाट सुरु भएको छ । संसद् सुरु भएको अर्को दिन आज नै प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । दिउँसो १ बजेका लागि बोलाइएको आजको प्रतिनिधिसभाको बैठकमा प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमालेसहित सरकारमा सहभागी दलहरूले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभएको एकीकृत समाजवादीले पनि पुस २५ गतेमात्रै विश्वासको मत दिने निर्णय गरेको छ ।


Published :२६ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media