विश्वासको मत दिए पनि प्रतिपक्षमै बस्ने कांग्रेस नेताहरुको प्रतिक्रिया

काठमाडौं ।  नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिए पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय शक्तिहरू एक ठाउँ उभिएको बताए । उनले सत्ताभन्दा व्यवस्था ठूलो नरहेको भन्दै विश्वासको मत दिए पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

त्यस्तै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिस्थित विश्लेषण गरेर विश्वासको मत दिएको बताए । उनले मुलुकको जटिलता र संविधानको रक्षा गर्न कांग्रेसले विश्वासको मत दिएको स्पष्ट पारे । ‘संसद प्रतिपक्षी बनेको होइन । हामी प्रतिपक्षमै छौं । २०५१ सालमा पनि हामीले मनमोहन अधिकारीलाई विश्वासको मत दिएर प्रतिपक्षमै बसेका थियौं,’  उनले भने।

त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले विचारमा विमति भए पनि विश्वासको मत दिएको बताए । उनले फरक विचारबाट विश्वासको मत दिने निर्णय भएको बताए । ‘कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा निर्वाचित भयो । तर परिस्थितिले विपक्षमा पुग्यो । भागी विवाह गरेपछि परिवारमा मतभेद हुन्छ । कसैले टीकोटालो गरौं भन्छ कसैले नगरौं भन्ने हुन्छ । फरक विचारबाट आज निर्णय भयो । तर केपी ओलीज्युले संसद विघटनलाई डिफेन्स गर्नुभयो । त्यसमा हाम्रो धेरै विमति छ,’ उनले भने।

त्यस्तै कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसले कुनै पदमा सहमति नगरेको स्पष्ट पारे । ‘हामीले कुनै पदमा सहमति गरेका छैनौं । विश्वासको मत दिए पनि हाम्रो भूमिका प्रतिपक्षकै रहन्छ । त्यसमा ढुक्क हुनुभए हुन्छ,’ उनले भने ।


Published :२६ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media