माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुलको व्यापार बढ्दै

काठमाण्डौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ ।

तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुलहरु आइरहेको व्यापारीहरुको भनाइ छ ।

कालीमाटीमा तरकारी व्यापार गर्दै आएका व्यापारीहरुले तरुल माघे संक्रान्तिमा मात्रै पाउने सिजन भएकाले पनि संक्रान्तिको अघिल्लो दिनको व्यापार हेरेर मात्रै नाफाघाटाको बारेमा भन्न सकिने बताए । उनीहरुका अनुसार मानिसहरु कत्तिको किन्न आउँछन् भन्ने कुराले नै मूल्य बढ्ने वा घट्ने भन्नेबारेमा थाहा हुने गर्दछ । अहिले कालीमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट लगायतका जिल्लाहरुबाट तरुलहरु धेरै आइरहेका छन् ।

कालीमाटी तरकारी तथा फलफूल बजारमा यस वर्ष विगतको वर्षमा भन्दा धेरै तरुल भित्रिएकाले भाउ केही सस्तो हुने व्यापारीहरु बताउँछन् । पछिल्लो केही दिन यता तरुलहरु बजारमा बाहिरबाट धेरै आइरहेकाले भाउ सस्तो पर्नसक्ने उनीहरुको भनाइ छ । बाहिरबाट तरुल ल्याउन नदिएको खण्डमा भने महंगो पर्नसक्ने व्यापारीहरुले बताए ।

माघे संक्रान्ती नजिकिएसँगै तरुल मात्रै होइन, बजारमा चाकुको पनि उत्पादन र व्यापार बढेको छ । जाडोमा गर्मी बढाउने अर्थात शरीरलाई तातो बनाउनका लागि पनि यतिबेला बजारमा चाकुको व्यापार बढ्ने गर्छ । चाकु पनि गत वर्षको मूल्यमा नै बिक्री भइरहेको व्यापारीहरु बताउँछन् । माघे संक्रान्तीको अवसरमा नेपाली समाजमा तरुल, चाकु, तिलौरा लगायत खाएर हर्षोल्लाससहित माघे संक्रान्ती पर्व मनाउने गरिन्छ ।


Published :२८ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media