एमाले परित्याग गरेका घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल भोलि (शुक्रबार) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । भुसाललाई पार्टी अध्यक्ष माधव कुमार नेपाललगायतले स्वागत गर्ने भएका छन् ।

एकीकृत समाजवादीले शुक्रबार अर्याल होटलमा पत्रकार सम्मेलनको तयारी गरिरहेको छ । अध्यक्ष नेपालले भुसाललाई पार्टी प्रवेशका लागि सम्बाद गर्दै आएका थिए । आज बिहान अध्यक्ष नेपाल, उपमहासचिव प्रकाश ज्वाला र भुसालबीच यस विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले छिटोभन्दा छिटो पार्टीमा सामेल हुन भन्दै घनश्याम भुसाललाई पत्रसमेत पठाएको छ । पत्रमा भनिएको छ,‘पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ।’

मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देही क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि भुसाललाई माओवादीले समर्थन गरेको थियो ।


Published :२८ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media