विद्यालय तहमै योग शिक्षाको अध्ययन गराउनुपर्छः प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन् ।

आइतवार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उहाँले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन् । उनले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउनसके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताए । उनले भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताए ।

प्रधानमन्त्री दाहालले भौतिक रुपले सम्पन्न देशहरुमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरु भएको भन्दै मानसिक रुपमा पनि चुस्त राख्न आवश्यक रहेको बताए । मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको बताए । उनले अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको बताए ।

प्रधानमन्त्री दाहालले योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । उनले संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको बताए ।


Published :१ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media