बालुवाटारमा सत्ता साझेदार दलको बैठक, एजेण्डा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । मन्त्रिमण्डल विस्तार तथा भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतकाे उपस्थिति छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच भएको भेटवार्ता पछि सत्ता साझेदारको बैठक बोलाईएको हो ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजै मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको थियो । ओली निवास बालकोटमा भएको लामो छलफलपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारमा आजै सहमति जुट्ने बताएका थिए । उपप्रधानमन्त्री विष्णु पौडेलले पनि आजै बैठक बस्ने र सहमति खोजिने बताएका थिए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच मन्त्रिपरिषद विस्तार गर्ने सहमति भइसकेको छ भने आज राष्ट्रिय शोक दिवस भएकाले सम्भव नभएकाले भोलि मंगलवार नयाँ मन्त्रीहरुको शपथ गराउने पनि अनौपचारिक सहमति भएको छ ।

स्रोतका अनुसार स्वतन्त्रलाई ३, राप्रपालाई तीन मन्त्रालय दिने सहमति भए पनि मन्त्रालय भने टुंगो भईसकेको छैन । जनता समाजवादी पार्टीले भने सर्तसहित सरकारमा सहभागी हुने जनाइरहेको छ । सो पार्टीले उपराष्ट्रपति माग गर्दै आएको छ ।


Published :२ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media