काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा मिलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सोमबार राति अबेर मन्त्रीहरूको भागबन्डा टुंग्याएको हो ।
रास्वपाका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार नयाँ मन्त्रीहरूले आज मंगलबार दिउँसो शपथ ग्रहण गर्ने भएका छन् । उनले आज १ बजे शपथ ग्रहणअगाडि दलहरूले आन्तरिक छलफल गर्ने भएकाले मन्त्रालय भागबन्डाको औपचारिक जानकारी त्यसपछि मात्र दिने बताए ।
मन्त्री लामिछानेले मन्त्रीहरूको शपथ ग्रहणपछि प्रधानमन्त्रीले बोलाएको कांग्रेससहितको सर्वदलीय बैठक बस्ने जानकारी दिए । उनले नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी अहिले मन्त्रालय भागबन्डामा सहभागी नरहेको समेत बताए ।
सोमबार भएको सहमतिअनुसार नेकपा एमालेलाई ८, माओवादीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३–३ मन्त्री र एक–एक राज्यमन्त्री दिने सहमति भएको छ । त्यस्तै जनमत पार्टीले पनि एक मन्त्री पाउनेछ ।
गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति बैठकमा भएको छ । दोस्रो ठूलो माओवादी केन्द्रले प्रधानमन्त्री पाइसकेको छ । तेस्रो ठूलो शक्ति रास्वपाले उप तथा गृहमन्त्री पाइसकेको र अब थप शिक्षा र श्रम मन्त्रालय पाउने सम्भावना छ । त्यसैगरी उसले उपसभामुख पनि पाउनेछ ।
चौथो ठूलो दल राप्रपाले उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय पाउने सहमति भएको छ । उसले ऊर्जा, सहरी विकास, युवा तथा खेलकुद पाउने देखिन्छ । जनमत पार्टीले एक मन्त्री पाइसकेको छ । १२ सिट भएको जसपालाई २ मन्त्री दिने भनिएको छ । यद्यपी जसपाले उपराष्ट्रपति पनि मागिरहेको छ । नागरिक उन्मुक्ति पार्टी आफ्नो माग पूरा नभएसम्म सरकारमा जान मानेको छैन ।
पोखरामा विमान दुर्घटनाका कारण शोक बिदा दिएको कारण मंगलबार मात्रै मन्त्रिपरिषद्को विस्तार गर्ने सहमति पनि उच्चस्तरीय संयन्त्रको बैठकले गरेको छ ।
सत्ता गठबन्धनको उच्चस्तरीय बैठकमा सहमति भए पनि मंगलबार मन्त्रिपरिषद्को विस्तारसँगै मन्त्रालयको बाँडफाँटको विषय सार्वजनिक गर्ने तयारी सत्ता साझेदार दलले गरेको छ।
मन्त्रिपरिषद्को विस्तारसँगै आज मंगलबार सर्वदलीय बैठक बोलाइएको छ । विश्वासको मत दिने कांग्रेससहितको बैठकमा समसामयिक विषयमा छलफल हुने भएको छ ।