काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ ढंगले संसद चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामुखमा निर्वाचित भएपछि संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्ने बताए ।
‘यो प्रजातन्त्रमा राम्रो सुन्दर अभ्यास भएको छ । यो अभ्यासले म चुनावमा प्रतिस्पर्धा गरेको हुँ । सभाको प्रतिनिधित्व ठीक ढंगले अगाडि बढाउँछु,’ उनले भने।
बिहीबारको संसद बैठकबाट उनी १६७ मतसहित सभामुखमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसकी ईश्वरी न्यौपानेले १०० मत प्राप्त गरिन् । घिमिरे मंसिर ४ को निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए ।