काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेले पाउनुपर्ने सहमति भएको दाबी गरेका छन् । उनले सोहीबमोजिम एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने बताए ।
संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेको उम्मेदवारलाई नै राष्ट्रिय सहमति बनाउनुपर्ने बताए । ‘राष्ट्रपतिमा नेकपा एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ,’ उनले भने ।
राष्ट्रपतिमा एमालेको उम्मेदवार को भन्ने जिज्ञासामा ओलीले कुनै जवाफ फर्काएनन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा समझदारी गर्ने प्रयास आफ्नो रहेको बताएका थिए ।
यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख निर्वाचित हुन नसके पनि राष्ट्रपतिमा परिणाम आउने गरी उम्मेदवार उठाउने बताएका थिए ।