काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको कूटनीतिक सम्वन्धलाई अघिल्लो सरकारले भताभुंग बनाएको आरोप लगाएका छन् ।
शुक्रबार एमालेको परराष्ट्र विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाल अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुनुपर्ने उल्लेखसमेत गरे ।
‘हाम्रो अन्तराष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो,’ उनले भने, ‘कसैका निम्ति काम गर्ने, कसैलाई प्रोभक गर्ने गैरजिम्मेवार प्रवृत्तिहरु देखा परे ।’
अध्यक्ष ओलीले विगत सरकारको समयमा छिमेक सम्बन्ध असन्तुलित, विवादास्पद र बेढंगी रुपमा चलेको बताए ।
राष्ट्र एकजुट भएर देशका निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्नेमा देशभित्र तनाव बढाउने, बाह्य शक्तिसँग साँठगााँठ गर्ने काम गरेको ओलीको आरोप छ ।
नयाँ बनेको सरकारले कूटनीतिलाई ठीक ठाउँमा ल्याएर छिमेकसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्नेमा अध्यक्ष ओलीको जोड थियो ।
छिमेकमा बसेर छिमेकको अहित गर्ने काम गर्नु नहुने बताउँदै उनले नेपाल छिमेकीको विल्कुलै कुभलो नगरिकन उनीहरूको चासो र चिन्तालाई सम्वोधन गर्ने तर, नेपालले आफ्नो सार्वभौमसत्ता र स्वाधिनतामा सम्झौता नगर्ने बताए ।