काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अब एउटै कम्युनिस्ट पार्टी बन्नुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपालका सच्चा कम्युनिस्टको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताए।
शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीले सबै कम्युनिस्टलाई एक बनाउन छलफल सुरु भएको बताए ।
भेटमा नेकपा (बहुमत) का नेताहरूले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न माग प्रधानमन्त्री समक्ष राखेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए । प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ । अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु।’
जनयुद्ध, थारु, मधेस लगायत विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दी रिहाइका विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले अब संसदबाटै राजनीतिक बन्दी रिहाइको काम अघि बढाउने बताए ।