जनकपुरका दुई युवाको अपहरणपछि हत्याको विरोधमा गृहमन्त्रीको राजीनामा मागसहित प्रदर्शन

जनकपुर । जनकपुर धामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा बिरोध प्रदर्शन गरेका छन् ।

मृतकका आफन्त र स्थानीयहरुले आफूले मृत्यु हुनुभन्दा पहिला नै प्रहरीलाई खबर गरे पनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै बिरोध जनाएका हुन्  ।

१४ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपछि भारतमा हत्या भएको थियो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । तर परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरु दुवैको हत्या भएको थियो ।

गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए । मृतकका मामाले प्रहरीलाई पहिला नै हराएको र अपहरणमा परेको रिपोर्ट दिए पनि प्रहरीले नै चासो नदिएको आरोप लगाए ।

उनले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनुपरेको बताए । बिरोध प्रदर्शनमा उनीहरुले मृतकलाई न्याय दे, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।

उनले प्रहरीले पीडित पक्षले कुनै रिपोर्ट नगरेका कारण खोज्न गाह्रो भयो भनेर झुटो कुरा गरिरहेको बताए । उनले अपहरणकारीले पठाएको रेकर्ड अडियो हरेक पटक प्रहरीलाई दिएको दाबी गरे ।


Published :९ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media