सुरक्षाकर्मीका लागि आवश्यक साधनस्रोत, सीप, तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिबद्धः प्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

२२औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सीमा सुरक्षार्थ उत्तर-दक्षिण, पूर्व-पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

सशस्त्र प्रहरीले राजस्व संकलनमा पु-याएको सहयोगदेखि आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कामको प्रधानमन्त्री प्रचण्डले प्रसंसा गरे । उनले सशस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवासलगायतका सामाग्री र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने जानकारी दिए । उनले अनुशासित, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारको सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा विशिष्ट योगदान पु-याएको भन्दै ज्ञानेन्द्रराज राइलाई ‘लाइफ टाइम एचिभमेन्ट’ बाट सम्मानित गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो ।

त्यस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछनेले सशस्त्र प्रहरी बलले नेपालको आन्तरिक शान्ति सुरक्षा, सीमा सुरक्षा एवं व्यवस्थापन, विपद व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिहरुको सुरक्षा, औधोगिक एवं राजस्व संकलनमा उल्लेखनिय भूमिका निर्वह गर्दै आएको बताए ।

ऐनको कार्यादेशअनुसार पृथकतावादी एवं आतंकवादी गतिविधि नियन्त्रण गर्नु रहेकाले संगठनलाई सोको लागि तयारी गर्नुपर्ने जरुरी भएको हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन र अध्ययन गरी जनशक्ति तयार गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

 


Published :९ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media