जुम्लालगायत जिल्लामा भारी हिमपातले जनजीवन कष्टकर

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भारी हिमपात भएसंगै यहाँको जनजीवन प्रभावित भएको छ ।

अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा पहिलोपटक मंगलबार विहान ५ बजेबाट हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत गर्ने चन्दननाथ नगरपालिकाका स्थानीयवासि सुनिता पाण्डेले बताइन् ।

दक्षिणी र पश्चिमी वायुको प्रभावका कारण कर्णाली लगायत पश्चिम नेपालभर वर्षात भएको छ । हिउँ पर्न थालेपछिको जुम्लाको जनजिवन कष्टकर बनेको छ ।

जिल्लाको उच्च ठाउँमा दुई देखि तीन फिटसम्म हिउँ जमेको छ । यहाँको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

यस्तै, जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटका उच्च भेगमासमेत हिउँपात भएको छ । हिउँ परेपछि सदरमुकाम खलंगाको बजार बन्द भएको छ । यातायातका साधनहरू राम्रोसँग चल्न पाएका छैनन् । हिउँ परेकाले किसानहरूले लगाएको हिउँदे बालीलाई निकै राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । ।

स्याउका नयाँ विरुवा लगाउने समय पनि भएकोले चाहिने पानीको मात्रामा हिउँ परेकोले स्याउका विरुवा लगाउने किसानलाई फाइदाजनक रहेको कार्यालयले जनाएको छ ।

हिउँ पोखरी बनाएका किसानहरुलाई हिउँ संकलन गर्न र नयाँ बाली लगाउन उपयुक्त हुने सिंजा गाउँपालिका कृषि शाखाका प्रविधिक दलविर वडले जानकारी दिनुभयो । हिमपातले गर्दा जिल्ला हिउँले सेताम्य बनेको छ । हिमपातले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको छ ।

हिमपातपछि जुम्ला लगायत कर्णालीको हवाई विमानस्थल बन्द भएको छ । धावनमार्गमै हिउँ जमेपछि मंगलबार बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाबाट चल्ने लामो तथा छोटादुरीका यातायातका साधन ठप्प भएपछि यात्रुलाई सास्ती भएको छ । हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर र विद्त सेवा आउने जाने भइरहेका यहाँका सर्वसाधारणले जनाएका छन् ।


Published :१० माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media