एमाले सबै जनवर्गीय संगठनका अधिवेशन/सम्मेलनको मिति तय

काठमाडौँ । नेकपा (एमाले) का सबै जनवर्गीय संगठनका राष्ट्रिय अधिवेशन/सम्मेलन मिति तय गरिएको छ ।

नौवटा जनवर्गीय संगठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् । उनका अनुसार सबै जनसंगठनले चैत मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि मिति घोषणा गरेका हुन् ।

गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसंगठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन/सम्मेलन गर्ने निर्णय गरेको थियो।

सदस्य खड्काले सबै जनसंगठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन/सम्मेलनको मिति तोकेको जानकारी दिइन्। उनका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा, नेपाल खेलकुद महासंघको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौंमा सम्मेलन हुने भएको छ ।

यस्तै, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको चैत १८ र १९ गते काठमाडौँ, नेपाल पिछडा वर्ग महासंघको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासंघ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला सङ्घको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासंघको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा सङ्घको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ ।

एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय सङ्गठनका अधिवेशन नियमित हुन सकेका थिएनन्। एमालेका २३ जनवर्गीय सङ्गठन छन् ।


Published :१० माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media