गण्डकीमा थपिए ३ मन्त्री, मन्त्रिपरिषद्ले पायो पूर्णता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ३ नयाँ मन्त्रीको नियुक्तिसहित ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । यसअघि सोमबारको मन्त्रिपरिषद्ले गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद बनाउने निर्णय गरेको थियो । अघिल्लो सरकारमा १२ मन्त्रालय थिए ।

२५ पुसमा मुख्यमन्त्री नियुक्त अधिकारीले सोही दिन ३ जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

यसबीचमा मुख्यमन्त्री अधिकारीले सोमबारमात्रै आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान सत्तागठबन्धनको साझेदार दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । शर्मा र दाहाललाई भेटेर मुख्यमन्त्री अधिकारी मंगलबार बिहानै काठमाडौंबाट पोखरा फर्किएका हुन् ।

मुख्यमन्त्री अधिकारीले मंगलबार ३ नयाँ मन्त्रीमा एमालेबाट रोशनबहादुर गाहाथापामगर, श्याम गुरुङ र माओवादीबाट रेशम जुग्जालीलाई नियुक्त गरेका हुन् । यसअघि मुख्यमन्त्री अधिकारी नियुक्त हुँदाकै दिन एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्री भएका थिए । उनीहरु ४ जनाको सपथ एकै दिन पुस २५ मा भएको थियो।

७ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका २ र राप्रपाबाट १ जना मन्त्री भएका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिँदै मुख्यमन्त्री अधिकारीले सबै मन्त्रीहरुलाई विभागीय जिम्मेवारी पनि सुम्पिएका छन् ।

माओवादीका हरिबहादुर चुमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, एमालेकी सीता सुन्दास आर्थिक मामिला, राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य, एमालेकै रोशन गाहाथापामगर आन्तरिक मामिला तथा कानुन, वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत र माओवादीका रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन् ।

आर्थिक भार कम गर्ने र जनतामा सकारात्मक सन्देश दिने भन्दै प्रदेशका १२ मन्त्रालयलाई ७ बनाइएको थियो ।


Published :१० माघ २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media