कांग्रेस प्रवक्ता महत भन्छन्- सभापति देउवा राष्ट्रपतिको उम्मेदवार होइन

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो ।

तर कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।’ ‘संसद्‌मा गुण र दोषका आधारमा हामीले संसद्‍मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, सरकारलाई समर्थन गरे पनि हामीहरू सरकारमा जाने भनेको होइन’, नेता महतले भने ।

संविधान रक्षाको जिम्मेवारी राष्ट्रपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए ।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको पनि स्पष्ट पारे । उनले राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता इच्छुक रहेकाले उपयुक्त समयमा पार्टीले निर्णय गर्ने पनि बताए ।


Published :१२ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media