काठमाडौं । गृह मन्त्रालयले आत्मदाहबाट मृत्यु भएका प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेगरी समिति गठन गरिएको हो । समितिले आचार्यले उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्ने र त्यस सम्बन्धमा सरकारले के-के गर्नुपर्ने हो सुझाव तयार पार्नेछ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयवस्तुबारे छानबिन गर्ने निर्णय गरेको थियो। इलामका आचार्यले मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका थिए ।