काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ । अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहे पनि यो प्रणाली स्ट्रङ नरहेको मौसमविद्हरूको भनाइ छ । जसका कारण वर्षाको उच्च सम्भावना न्यून छ ।
देशको पहाडी भेगमा आज (शनिबार) बिहान आंशिक बदली रहेको छ। तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।
विभागका अनुसार राति प्रदेश-१ मा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरको छ।
आइतबारदेखि नेपालको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यस्तै आइतबार राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
सोमबार दिउँसो पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।