काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको दाबी गरेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नुपरेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधानअन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरु सक्षम रहेको पनि पटक-पटक दोहो-याए ।
शहिद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यकता औंल्याए । संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।
उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरुलाई समाधान गर्न राजनीतिक दलहरु र त्यसको नेतृत्व समक्ष रहेको बताए । उनले नेपालको संविधान शहीदहरुको भावना अनुसार बनेको पनि बताए ।