रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिप्रका काठमाडौँमा

काठमाडौं  । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक कागजात लिएर लामिछाने जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो ।

लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले नेपाली नागरिक नै नभएको ठहर गरेपछि  लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए । लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए।

लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ।

उनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुन: पाउनेछन्।

लामिछानेले २०५० सालमा वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । त्यसपछि अमेरिका गए र उतैको नागरिकता लिए । उनले २०७० साल (सन् २०१४) मा अमेरिकी नागरिकता लिएका थिए । २०७१ जेठ २२ मा अमेरिकी नागरिकका रूपमा गैरपर्यटक (नाता) भिसामा नेपाल आएर काम गर्न थाले । तत्पश्चात् २०७५  सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका थिए । उनले २०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए ।


Published :१५ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media