जिप्रका काठमाडौँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । नेपाली नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । लामिछाने नागरिकता लिन आउने भएपछि बिहानैदेखि जिप्रका परिसरमा उनका कार्यकर्ता, समर्थक र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

अहिले जिप्रका परिसरमा बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वोच्च अदालतले नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

सर्वोच्चले नेपाली नागरिक नै नभएको ठहर गरिदिएपछि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए । लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो ।

लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा  लामिछाने चितवत-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


Published :१५ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media