गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिनेछः प्रधानमन्त्री  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा आइतबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताए । उनले शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् प्रक्रिया बुझ्न आग्रह गरे ।

‘तपाईहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ।’ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले भने, ‘तपाईहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुस्। सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध छ।’

प्रचण्डले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए। उनले भने, ‘गंगालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ। जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्। यसका लागि तपाईहरू धन्यवादको पात्र हुनुहुन्छ। यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ।’

उनले आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग जोडिएको बताए। उनले भने,‘शहीद गंगालाल हामी सबैले सम्मान गर्ने नाम हो। तानाशाहीविरोधी, निरंकुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको छ। बिपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’


Published :१५ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media