संसदमा उठेका प्रश्नहरुको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मतभेद

काठमाडौं । संसदमा उठेका प्रश्नहरुको सरकारले जवाफ दिने समयका विषयहरुलाई लिएर सत्तारुढ दलका सांसदहरुबीच नै मतभेद देखिएको छ ।

सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा सत्तारुढ एमाले सांसद महेश बर्तौला र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलगातका सांसदहरुबीच सो विषयमा मतभेद देखिएको हो ।

पूर्वमन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद बस्नेतले व्यवहारिक हिसावले पनि सांसदमा उठेका प्रश्नहरुको जवाफ दिनका लागि मन्त्रीहरुलाई एक हप्ताको समय दिनुपर्ने तर्क गरे भने एमाले सांसद बर्तौलाले तत्काल त्यसमा असहमति जनाए । जनताका समस्या तत्काल हल गर्नुपर्ने भन्दै ३ दिनको समय राख्न उपयुक्त हुने उनले बताए ।

हालको प्रतिनिधिसभा नियमावलीमा भने मन्त्रीहरुले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि ५ दिनको समय निर्धारण गरिएको छ । सो समय बढि हुने भन्दै एमाले सांसद बर्तौलाले त्यसलाई घटाएर ३ दिन राख्न प्रस्ताव गरे । माओवादी केन्द्रका सांसद बस्नेतले भावनामा बगेर यस्ता कुरा गर्न नहुने भन्दै प्रतिवाद नै गरे । संसदलाई जनताप्रति उत्तरदायी बनाउन पनि मन्त्रीहरुले जवाफ दिने समय बढाउन नहुने सांसद बर्तौलाको तर्क थियो ।

छलफलका क्रममा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ५ दिनमा जवाफ दिने नियम समेत कार्यान्वयन हुन नसकिरहेका बेला ७ दिन निर्धारण गरेर त्यसलाई कार्यान्वयनमा लैजान सके ठूलो उपलब्धि हुने उल्लेख गरे ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि ७ दिनमा नै मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन उपयुक्त हुने आफ्नो धारणा राखे । उनले संसदमा मन्त्रीहरुलाई जवाफदेही बनाउने विभिन्न विकल्पहरु रहेकाले यसलाई विवादको विषय बनाईरहन आवश्यक नभएको समेत स्पष्ट पारे ।

समितिको ३ दिनयता जारी बैठकमा नियमावलीको प्रस्तावना, परिभाषा खण्ड, अधिवेशन आह्वान र अन्त्य, सदस्यहरुको उपस्थिति, बस्ने क्रम, बैठकको संचालन र स्थगनलगायतका पक्षमा हामीले छलफल गरिएको छ । त्यसैगरी सभामुखको निर्वाचन, उपसभामुखको निर्वाचन, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, सपथ, सरकारी र गैरसरकारी कार्य गर्ने दिन, दैनिक कार्यसूचिको सम्बन्धमा, कार्य व्यवस्था परामर्श समितिको सम्बन्धमा अनि शुन्य समय, विशेष समय, सूचना दिने तरीकालगायतका विषयहरुमा पनि समितिको बैठकमा छलफल गरिएको संघीय संसद सचिवालय प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

गत माघ १० गते बसेको प्रतिनिधिसभा बैठकले २१ सदस्यीय सो समिति गठन गरेको थियो । समितिलाई १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभामा पेश गर्ने कार्यादेश दिइएको छ ।


Published :१६ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media