काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर राणाले राजासहितको प्रजातन्त्र स्थापित गर्न आफूहरू आएको बताएका छन् । उनले बुधबार संसदमा बोल्दै नेपालमा फेरि सनातन हिन्दु राष्ट्र कायम गर्न आएको बताए ।
‘हामी नेपाली जनताको मनमा भिजेका छौं। हामी नेपालमा फेरि सनातन हिन्दू राष्ट्र कायम गर्नका लागि आएका छौं । हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं । र, त्यो कुरा संविधानले रोक्दैन । हामीले यो कुरा बोल्न पाउनुपर्छ। त्यो समय आएपछि कार्यान्वयन गर्छौं,’ उनले भने ।
उनले संविधानभित्रै बसेर मूल्य र मान्यता परिवर्तन गर्ने बताए । ‘यसको मतलब यो होइन कि हामी व्यवस्थालाई मान्दैनौं । संविधानलाई मान्दैनौं । नमान्ने भए हामी जंगल जान्थेम । बन्दुक उठाउँथेम । यही व्यवस्था र यही संविधानभित्र बसेर मूल्य र मान्यतालाई परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले भोट दिएर पठाएका छन् । हामीलाई हेप्ने र होच्याउने काम यो सदनमा आइन्दा नहोस्,’ उनले भने ।